मुगु —खत्याड गाउँपालिकामा एकै दिन तीन वटा कार्यालयको स्थापना गरिएको छ । स्थानीय स्तरमै प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्य सहित खत्याड गाउँपालिकाको रामतडीमा इलाका प्रशासन कार्यालय, नापी कार्यालय र मालपोत कार्यालय स्थापना गरिएको हो ।
गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली, प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री , पालिका अध्यक्ष अजबहादुर शाही सुरक्षा निकायका प्रमुख, समाजसेवी अनिल बानियाँ, जनप्रतिनिधि लगायतको उपस्थितिमा बुधबार उक्त कार्यालय उदघाटन गरिएको छ ।
खत्याडमा गाउ“पालिकाका स्थानीयवासीको पिडा र दुःखलाई मध्येनजर गरि इलाका प्रशासन कार्यालय स्थपानाको लागि तत्कालिन केपी शर्मा ओली सरकारको पालामा पूर्व वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले पहल गर्नु भएको थियो ।
पालिकामै प्रशासनिक कार्यालय स्थापना भएपछि सेवा प्रवाहमा अत्यन्तै सहज हुने पालिकाका अध्यक्ष अजबहादुर शाहीले बताए । स्थानीयलाई नागरिकता बनाउन गमगढी पुग्नै ५ हजार देखि १० हजार बढि रुपैयाँ खर्च हुने र दुःख बढी हुने बाध्यता अन्त भएको अध्यक्षको भनाई छ ।
अब पालिकास्तरमै नागरिकता, राष्ट्रिय परिचयपत्र तथा नापी कार्यालय र मालपोत कार्यालयबाट हुने दैनिक सेवा प्रवाहमा सहज हुने भएपछि स्थानीय खुशी भएको छन ।