मुगु —मुगुको छायाँनाथ रारा नगरपालिकाले जातीय भेदभाव छुवाछुत बिरुद्ध अन्त्यका लागि अन्तरसंवाद तथा सहभोजको आयोजना गरेको छ । शुक्रवार नगरपालिकाको दलित हेल्प डेस्कले आयोजना गरेको सहभोजमा नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अभियान्ता, सुरक्षाकर्मीका प्रमुख दलित सञ्जालका प्रतिनिधि, कर्मचारी र स्थानीयलाई सहभागिता गराएको छ ।
कानुनमा मात्रै सीमित नराखी व्यवहारमै जातीय विभेद अन्त्यका लागि सहभोज गरिएको नगर प्रमुख बिष्णुकुमार भामले बताए । सहभोज कार्यक्रम सामाजिक रूपान्तरणको एउटा महत्वपुर्ण यात्रा भएको उनको भनाई छ ।
छुवाछूत अन्त्य गर्न आम नागरिकले सोचसँगै व्यवहारमा परिवर्तन ल्याउन आवश्यक देखिएको नगर प्रमुख भामको भनाई छ ।
सामाजिक रूपान्तरणको एउटा महत्त्वपूर्ण कदम सहभोज भएको हुँदा जातीय विभेद अन्त्यका लागि सबै एकजुट भएर लाग्नु पर्ने नगरपालिकाका दलित हेल्प डेस्कमा कार्यरत कालिबहादुर नेपालीको भनाई रहेको छ ।
जातमा होइन मानवतामा विश्वास गर्नु पर्ने, क्षमताका आधारमा सम्मान गर्नु पर्ने र छुवाछूतलाई व्यवहारमै अन्त्य नगरेसम्म यसको कुनै पनि अर्थ नहुने प्रमुख प्रशासकिय अधिकृत बिष्णु पौड्याल बताउछन ।
नगर प्रमुख भामले जातीय बिभेद तथा छुवाछुत अन्तको लागि बिभिन्न क्रियाकलाप गर्दै आएका छन ।तस्विर कविराज कार्की मुगु